डिआईजी र एसएसपी थप्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माद्वारा अस्वीकार

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १९ : ३२
डिआईजी र एसएसपी थप्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माद्वारा अस्वीकार

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव अस्वीकार गरेको छ। 

केही दिनअघि प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र पन्ध्र जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप्न हालै गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। सो प्रस्ताव गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिमा पुग्नुअघि भएको छलफलमा अर्थ मन्त्रालयले अस्वीकार गरेको गृह स्रोतले बतायो। 

सो प्रस्ताव ओएन्डएम समितिमा जानुपूर्व केही दिनअघि भएको गृह र अर्थ मन्त्रालयबीचको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले अस्वीकार गरेको उनीनिकट स्रोतले बतायो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृह नेतृत्वबीच परामर्शपछि दरबन्दी थपको प्रस्ताव प्रधान कार्यालयबाट अघि बढेको थियो। 

ओएन्डएम समितिमा प्रस्ताव पठाउनुअघि गृहले अर्थ मन्त्रालयसँग परामर्श गरेको थियो। ‘प्राकृतिक विपत्तिको पुनर्निर्माण, पुनरुत्थान, राहत तथा क्षतिपूर्तिमा मुलुक केन्द्रित भइरहेका बेला अर्थतन्त्रमा आर्थिक व्ययभार पर्ने गरी आएको प्रस्ताव स्वीकार गर्न सकिएन’ शर्मानिकट स्रोतले भन्यो। प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले पनि उक्त प्रस्तावमा अर्थले सहमति नदिएको बताएको छ। 

प्रतिक्रिया दिनुहोस