‘नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसक्यो’ : जसपा नेता यादव

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, ०७ : ४८
‘नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसक्यो’ : जसपा नेता यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता तथा सांसद राजकिशोर यादवले नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसकेको बताएका छन् । सिरहाको मिर्चैयामा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् ।

जनताले पटकपटक मत दिएपनि कांग्रेस, कम्युनिष्ट लगायतका दलले त्यसको दुरुपयोग मात्रै गरेको उनले बताए । वर्षौंवर्ष देशमा ती दलहरुले राज गरेपनि जनता र देशको अवस्था ज्यूँकात्यूँ रहनुले उनीहरु फेल भइसकेको उनको तर्क छ । ती दलहरुसँग कुनै पनि भिजन नभएको र संघीयतामा ती दलहरु असान्दर्भिक रहेको पनि उनले बताए । सबै पुराना दलहरुले जनताको मत लिएर ठग्ने काम मात्रै गरेको र देशलाई धारासायी बनाएको भन्दै अब ती दलहरुलाई बिर्सिन जनताले ढिला गर्न नहुने उनले बताए ।

उनले अब देशलाई जसपाले विकल्प दिने बताए । जसपाको जन्म नै देशलाई विकल्प दिन भएको भन्दै जनताले जसपालाई साथ दिनुपर्ने उनको भनाइ थियो । देशको समृद्धि र सुशासनको सपना, सबै समुदाय एवं वर्गको अधिकार र पहिचान तथा वास्तविक समाजवादको सपना जसपा मात्रैले पूरा गर्न सक्ने उनले दावी पनि गरे ।

यस्तै, प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री सुरेश कुमार मण्डलले पनि नेपालमा अब जसपाको विकल्प नभएको बताए । अझै पनि समाजमा त्यही ठग दलका एजेन्टहरु सक्रिय रहेको भन्दै जनतालाई सचेत हुन उनले आग्रह गरे ।

मिर्चैया नगर समितिको आयोजनामा भएको कार्यक्रममा सिरहा जिल्लाका विभिन्न स्थानीय तहका सयौं नेता कार्यकर्ताको उपस्तिथि रहेकोे थियो । सोही कार्यक्रमबाट तत्कालीन जनयुद्धमा अग्रमोर्चामा रहेर काम गरेका तर, पछिल्लो १० वर्षयता निष्क्रिय रहेका मिर्चैया ९ विष्णुप्रसाद यादवसहित २ दर्जन व्यक्ति जसपामा प्रवेश पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस