बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १९ : ४६
बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने

काठमाडौँ । बागमती प्रदेशमा काँग्रेस र एकीकृत समाजवादीले आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने भएका छन् । विपक्षी गठबन्धनको आज हेटौंडामा बसेको बैठकले यस्तो सहमति गरेको हो ।

यसअघि केन्द्रमा सत्ता गठवन्धनका शीर्ष नेताले नेकपा (एकीकृत समाजवादी) लाई बाग्मतीमा सरकारको नेतृत्व दिने सहमति गरेको थियो । तर,काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा दाबी नछोडेपछि आधाआधा कार्यकाल नेतृत्व गर्ने समझदारी जुटाइएको हो। सहमतिअनुसार अब पहिलो कार्यकाल समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुनेछ भने चुनावी सरकारको नेतृत्व बानियाँले गर्नुहुनेछ ।

बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनको प्रक्रिया आजैबाट शुरु भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि अहिले प्रदेशसभामा छलफल भैरहेको छ । बागमती प्रदेशसभामा माओवादी केन्द्रको २३, काँग्रेसको २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसद आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग रहेको संख्या बहुमतका लागि पर्याप्त हो । प्रष्ट अल्पमतमा रहेको एमालेसँग भने ४३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस