जनकपुरमा ढल निर्माणमा अनियमितता भएको भन्दै खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १५ : ०१
जनकपुरमा ढल निर्माणमा अनियमितता भएको भन्दै खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

जनकपुर । अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई कुटपीट गर्दै जनकपुरधाम नगर परिक्रमा गराएका छन् । 

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टी धनुषाका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपीट गर्दै जनकपुरधामको नगर परिक्रमा गराएका हुन् । 

जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।

कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए । निमित्त प्रमुख यादवलाई अर्धनग्न बनाएर कुटपीट गरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेका थिए । 

जनमत पार्टीका नेता कार्यकर्ताहरुले  प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस