काठमाडौँ । गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक छन् । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ ।
स्थानीय तहको चुनावमा पार्टीले राम्रो गर्न सक्छ भन्नेमा देउवा ढुक्क नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘स्थानीय तहका पछिल्ला दुई चुनाव ९२०५४ र २०७४० मा एमालेले एकलौटीजस्तो बनायो, गत चुनावमा त माओवादीसँग मिल्दा पनि कांग्रेसले राम्रो गर्न सकेन, यसपालि पनि त्यस्तै भयो भने संसदीय चुनावको माहोल बिग्रन्छ, त्यसैले स्थानीय तहको चुनाव पहिल्यै गर्न हुन्न भन्ने प्रधानमन्त्रीको धारणा छ,’ कांग्रेसका एक नेता भन्छन् ।
संसदीय चुनाव छिटो गर्न भने कांग्रेसका सबैजसो नेता सहमत छन् । ‘यो सरकार जति चल्यो, भोट त्यति नै घट्ने हो । कम्युनिस्टहरूबीच सम्बन्ध तिक्त भएको यही मौकामा चुनाव गर्नुपर्छ भन्ने मत कांग्रेसभित्र बलियो छ,’ कांग्रेसका ती नेता भन्छन्, ‘धेरैजसो प्रभावशाली नेताहरू संसद्बाहिर रहेकाले सक्दो छिटो चुनावको पक्षमा छन् ।’
उता, माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सकेसम्म चुनाव पर धकेल्ने पक्षमा छन् । छिटो गर्ने हो भने तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव दाहालले कांग्रेससँग राखिसकेका छन् । ‘अब, लगत्तै संसदीय चुनाव हुने सम्भावना छैन,’ दाहालको भनाइ उद्धृत गर्दै निकट नेताले भने, ‘बरु अब तीनवटै निर्वाचन एकैपटक गर्नुपर्छ । प्रधानमन्त्री देउवासँग यो प्रस्ताव राखिएको छ ।’
कांग्रेस नेता शेखर कोइरालाले आफूसँगको भेटमा पनि दाहालले तीन निर्वाचन एकैसाथ गर्ने प्रस्ताव राखेको बताए । ‘केही समयअघि प्रचण्ड र मेरो भेट भएको थियो, तीनै चुनाव एकैपटक गर्ने प्रस्ताव उहाँको छ,’ उनले भने, ‘तर सबै चुनाव एकैपटक गर्न सहज छैन ।’
दाहालको प्रस्तावमा प्रधानमन्त्री देउवाले कुनै स्पष्ट जवाफ नदिएको कांग्रेस स्रोतको भनाइ छ । ‘उहाँको सम्पूर्ण ध्यान अहिले महाधिवेशनमा छ । सभापतिमा पुनः निर्वाचित भएमा जेठमा चुनाव गर्न उहाँ तयार हुनुहुन्छ, तर त्यो बेलासम्म पार्टीको नेतृत्व आफ्नो हातमा रहन्छ कि रहन्न भन्ने निश्चित भइसकेको छैन, त्यसैले उहाँ चुनावका बारेमा मंसिरभन्दा पहिले बोल्ने पक्षमा हुनुहुन्न ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ कार्तिक २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीड जम्मा गरेर न्याय निरूपण प्रभावित नगर्न रास्वपालाई सत्ता पक्षको आग्रह
सत्तारुढ दलकाे बैठक बालुवाटारमा