सत्तारुढ दल बैठक

भीड जम्मा गरेर न्याय निरूपण प्रभावित नगर्न रास्वपालाई सत्ता पक्षको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०७ कार्तिक २०८१, १२ : २७
भीड जम्मा गरेर न्याय निरूपण प्रभावित नगर्न रास्वपालाई सत्ता पक्षको आग्रह

काठमाडौँ । सत्तारुढ दलहरूले न्याय निरूपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ ।

समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । सत्तारुढ दलहरूले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरूपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन ।’फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरूको निष्कर्ष छ ।

सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै एमाले महासचिव पोखरेलले छानबिनको प्रक्रिया निष्पक्ष र पारदर्शी रूपमा अगाडि बढ्ने बताए । साथै उनले भीड जम्मा गरेर न्याय निरूपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस