कृत्रिम घटना अभ्यास

चितवनमा भूकम्पपछि भीषण आगलागी : घाइतेको उद्धार र राहतमा कठिनाइ

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १६ : १०
चितवनमा भूकम्पपछि भीषण आगलागी : घाइतेको उद्धार र राहतमा कठिनाइ

चितवन । चितवनको शक्तिखोर केन्द्रविन्दु बनाएर ७.३ रेक्टर स्केलको भूकम्प जाँदा हताहत भएका घाइतेको उद्धार गर्न नपाउँदै फेरि अर्को विपत्ति आइपर्छ । आज बिहान ९ बजे भूकम्पको धक्का महसुुुस भएको आधा घन्टामै चितवनको चौबिसकोठीभा भीषण आगलागी भएको हुन्छ । 

भूकम्पमा परेर भरतपुर २ बेलटाँडी क्षेत्रमा ठूलो जनधनको क्षति हुन्छ । दर्जनौ मानिस घाइते भएका हुन्छन् । भूकम्पका घाइतेका उद्धारमा नेपाली सेनाको टोली, चितवनको प्रहरी फोर्स, रेडक्रसकर्मीसहित सुरक्षाका सम्पूर्ण संयन्त्र उद्धारमा जुटिरहँदा चौबिसकोठीमा शेर्पा इलोक्टोनिक्सबाट सुरु भएको भीषण आगलागीले १५ घर पूर्ण रुपमा नष्ट गर्छ । दर्जनौँ घरहरुमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाउँछ । भूकम्प र आगलागीको चितवनका सबै मिडियाबाट प्रत्यक्ष प्रशारण चल्छ । 

उद्धार टोलीमा खटिएको सुरक्षाका संयन्त्रका अनुसार भूकम्पबाट भरतपुर २ बेलटाँडीमा ठूलो क्षति भएको हुन्छ । स्थानीय काले भुजेलको मृत्यु भएको छ भने उनका परिवार सबै घरभित्रै पुरिन्छन् । सो क्षेत्रका दर्जनौँ नागरिक बेपत्ता हुन्छन् ।   भूकम्पका कारण राजमार्ग भासिएर पूर्वपश्चिम राजमार्ग बन्द हन्छ ।

नारायणगढ मुग्लिन सडकको ठाउँठाउँमा पहिरो खसेको हुन्छ । नारायणगढ बजारका सयौँ घरहरुमा क्षति पुगेको हुन्छ । जिल्ला प्रशासन कार्यालय चितवनले ७०० घरहरुमा क्षति र ३५ सय परिवार प्रभावित भएको विवरण दिन्छ । घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको हुन्छ । अस्पतालहरु भरिएपछि घाइतेको क्याम्पाचौरमा राखेर प्राथमिक उपचार गरिन्छ ।

चितवनको सम्पूर्ण सुरक्षाका संयन्त्रहरु, नेपाल रेडक्रसको टोली, जिल्ला विपद् व्यवस्थापन समिति, भरतपुर महानगरको आपतकालीन कार्य सञ्चालन केन्द्रलगायतको सम्पूर्ण टोली घाइतेको उद्धार र राहतमा जुट्छ । भरतपुरका निजी तथा सरकारी अस्पताल घाइतेले भरिएका हुन्छन् ।

बालबालिकालाई सडकमै राखेर मनोसामाजिक परामर्श दिन सुरु हुन्छ । घाइतेको उद्धार, उपचार र राहत वितरण गर्नको लागि भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा दुई पटकसम्म बसेको बैठकले जिल्ला सुरक्षा संयन्त्रलाई तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएको हुन्छ ।

एक घन्टाको प्रयासपछि आगलागीलाई भरतपुर महानगरको दमकलले नियन्त्रणमा लिन्छ । सबै घाइतेको उद्धार हुन्छ । भूकम्प र आगलागी प्रभावित भएका ठाउँहरुमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलगायतको टोलीले निरीक्षण गर्छन् । राहत र उद्धार नपुगको भन्दै स्थानीयले भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय घेराउ गर्छन् । नारा लगाउँछन् । प्रहरीले घेराउकर्ताहरुलाई नियन्त्रणमा लिन्छ । 

भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले पत्रकार सम्मेलन आयोजना गरी घटनाको सम्पूर्ण विवरण सार्वजनिक गर्छन्। चितवन जिल्लाको सम्पूर्ण संयन्त्र उद्धार, राहत, उपचार र बन्दोबस्तको व्यवस्थापनमा जुट्छ । यत्तिक्कैमा यी सबै वास्तविक नभई कृत्रिम अभ्यास हो भन्ने क्याम्पाचौरमा हेरेर बस्नेहरु सबैलाई लाग्छ । यो त भरतपुर महानगरपालिकाअन्तर्गत रहेको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले भूकम्प, आगलागी र सडक दुर्घटनामा आधारित रहेर गरिएको कृत्रिम घटना अभ्यासमात्र हो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिपत्ति जुनसकै बेला आउनसक्ने भएकाले भरतपुर महानगरसहित जिल्लाका सम्पूर्ण संयन्त्र तयारी अवस्थामा रहनको लागि यो कृत्रिम घटना अभ्यास गरिएको बताइन् । उनले भने, ‘नारायणगढको क्याम्पाचौरमा गरिएको कृत्रिम घटना अभ्यासले जिल्लाको सम्पूर्ण संयन्त्र जस्तोसुकै विपत् आइपर्दा पनि तयारी छन् भन्ने प्रष्ट देखिन्छ ।’

उनका अनुसार कृत्रिम घटना अभ्यासले संयन्त्रलाई धेरै कुरा सिकाउँछ, उद्धार र राहतमा जुट्ने ज्ञान दिन्छ । उद्धार संयन्त्रलाई वास्तविक घटना हुँदा कसरी गर्ने, केके गर्ने भन्ने शिक्षा पनि दिन्छ ।’ यस्ता अभ्यासले सर्वसाधारणले पनि ज्ञान पाउने र उद्धार संयन्त्रको सिकाइ पनि हुने उनी बताउँछन् । 

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको कृत्रिम घटना अभ्यासले जोखिम आउँदा कसरी काम गर्ने भन्ने कुरा सिकाउने बताए । उनले भने, ‘भूकम्प, आगलागीजस्ता विपदहरु कहिले कतिबेला आउँछन् थाहा हुँदैन, संयन्त्रलाई तयारीमा रहन कृत्रिम घटना अभ्यासले सिकाउँछ । जस्तोसुकै विपद् पर्दा सुरक्षा संंयन्त्रलाई ताजगी राख्न कृत्रिम घटना अभ्यास आवश्यक हुन्छ ।’ कार्यक्रमको आयोजकमा भरतपुर महानगर, स्थानीय साझेदार, युएनडिपीलगायत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस