कांग्रेसको चियापान कार्यक्रम यसवर्ष स्थगित

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १६ : ४७

काठमाडौँ । कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पनि नहुने भएको छ । कोभिड–१९ को महामारीका कारण कांग्रेसले गत वर्ष पनि चियापान समारोह स्थगित गरेको थियो । कोजाग्रत पूर्णिमाका दिन विगतमा हरेक वर्ष हुँदै आएको चियापान समारोह यो वर्ष पनि नहुने निश्चित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात् महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो,’ मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत भनेका छन्, ‘त्यही कारण यो वर्ष पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह नगर्ने निश्चित भएको छ ।’

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो । कांग्रेसले चाडपर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउनसमेत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस