बन्दीपुरमा विप्लव समुहको आवसिय केन्द्रीय समिति बैठक

एक साता लामो बैठक बस्ने, ६५ नेताहरु सहभागी हुने

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, ०९ : १८
बन्दीपुरमा विप्लव समुहको आवसिय केन्द्रीय समिति बैठक

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ । एक सातासम्म आवसिय रुपमा विल्लवको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक तनहुँको बन्दीपुरमा हुनेछ । बैठकमा महासचिव विप्लवले राजनीतिक र सांगठनिक प्रस्ताव पेश गर्नेछन् ।

केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ मा तीनबुँदे सहमति गर्दै शान्ति पूर्ण राजनीतिक बाटोमा आएको घोषणा गरेको विप्लवको पार्टीले पार्टी शान्ति प्रक्रियामा आएपछिको अ वस्था, यो वीचको अवस्था र अबको रणनीतिका विषयमा केन्द्रीत रहेर गम्भिर छलफल र बहस गर्नेछ ।

प्रवक्ता खड्कबहादुर विश्वकर्माका अनुसार,  तत्कालिन सरकारसँग भएको सम्झौता कार्यान्वयन हुन नसकेपछि सरकार परिवर्तन भएपछि सबै राजनीतिक दलका नेताहरुसँग विप्लव सहितका नेताहरुले भेट गरेर सहमति कार्यान्वयनमा जोड गरेपनि त्यसमा ठोस प्रगति नभएको विषय देखि अहिलेको राजनीतिक अवस्थाबारे विमर्श र भावी रणनीति बनाउने विषयमा छलफल केन्द्रीय समिति बैठकमा हुने भएको छ ।

बन्दीपुरमा शुरु हुने बैठक झण्डै एक हप्ता चल्छ, बैठकमा राजनीतिक र सांगठनिक प्रस्ताव पेश हुन्छ’,  प्रवक्ता  विश्वकर्माले भने, बैठकमा सरकारसँग भएको सम्झौता र त्यसको कार्यान्वयनबारे छलफल हुन्छ । अहिलेको राजनीतिक परिस्थिति र अबको रणनीति तयार गर्छौं । देशको मूलभूत विषयमा पार्टीको आधिकारिक धारणा तय गर्छौं ।’

विप्लव नेतृत्वको नेकपामा अहिले ६५ सदस्यीय केन्द्रीय समिति छ । सबै सदस्यहरुले जमेर बहसमा भाग लिने र सबैलाई मन लागेसम्म बोल्न दिने गरी बैठक आयोजना गरिएकोले बैठक बन्दीपुरमा एक सातासम्म चल्ने गरी राखिएको एक केन्द्रीय सदस्यले बताए । विप्लव समूहले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनेर जनमत संग्रहको माग गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस