वित्तिय अनुशासनलाई उल्लंघन गरी सीधै अर्थमन्त्रीको गोजीबाट आयोजना झिकियो : पूर्वअर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १३ : ०२
वित्तिय अनुशासनलाई उल्लंघन गरी सीधै अर्थमन्त्रीको गोजीबाट आयोजना झिकियो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका महासचिव विष्णु पौडेलले वर्तमान सरकारले १४ सयवटा आयोजना स्थगित गर्नु अनौठो भएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा पौडेलले सांसदहरुलाई आफूले अध्यादेशमार्फत पेश गरेको बजेट र अहिले सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा रहेको भिन्नताबारे जानकारी गराएका हुन् ।

उनले बजेट प्रतिस्थापन विधेयक मार्फत अहिलेको सरकारले आफू अर्थमन्त्री हुँदा अध्यादेश मार्फत ल्याएको बजेटका राम्रा कार्यक्रम हटाइएको सांसदहरुलाई बताएका हुन् ।

उनले भनेका छन्, ‘यो सरकार अघिल्लो सरकारले ल्याएको बजेटलाई स्वीकार गर्ने अवस्थामा पनि छैन । अस्वीकार गरेर अघि जाने पनि देखिँदैन । दुविधाग्रस्त मनस्थितिबाट हामीले अघि सारेका राम्रा योजना–आयोजनालाई कटौती गरिएको छ।’ प्रतिस्थापन विधेयकमा वित्तिय अनुशासनलाई उल्लंघन गरी सीधै अर्थमन्त्रालय र अर्थमन्त्रीको गोजीबाट आयोजना झिकिएको उनले बताए ।

उनले भने, ‘१४ सयवटा आयोजना स्थगित गरेको छ । यो अनौठो भयो । आयोजना कि अघि बढ्छ कि बन्द हुन्छ । स्थगित हुँदैन।’

अहिलेको सरकारले सांकेतिक रुपमा बजेटको आकार घटाएर अघिल्लो सरकारले ठूलो बजेट बनाएको भन्ने मनोविज्ञान सिर्जना गर्न खोजेको पनि पूर्वअर्थमन्त्री पौडेलले सांसदहरुलाई बताएका छन् ।

संसद बैठकअघि बसेको एमाले संसदीय दल बैठकमा प्रतिरोध कसरी सशक्त बनाउने भन्नेबारे पनि छलफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस