राहत तथा समन्वय र सहजीकरण गर्न गृहले बनायो आठ जिल्लामा कार्यदल

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, २० : २०
राहत तथा समन्वय र सहजीकरण गर्न गृहले बनायो आठ जिल्लामा कार्यदल

काठडमाडौं । गृह मन्त्रालयले असोज १० देखि १२ को अति भारी वर्षका कारण प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । 

८ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि कार्यदल गठन भएको हो । 

काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई आगामी पुस २० गतेसम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस