काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्ने छन् । । समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित रहेका थिए । राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उहाँलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गरेका छन । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदबहाली, रथीवृन्दलाई सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।
यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताईसकेका छन् । उनको सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुनेछ ।
महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा ब¬ङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम प्राप्त गरेका छन् । युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार रहेका छन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तरराष्ट्रिय कमाण्ड समेत गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका शर्मासंग सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमता छ । सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उनको प्रमुख कार्यभार रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ भदौ २०७८, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई शुभकामना
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
दक्षिण कोरियाली राष्ट्रपतिले भने- 'मेरो विरुद्धको अनुसन्धान गैरकानूनी छ'