भोलिदेखि चल्ने संसद अधिवेसनमा दुई दल थपिए

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, २० : १२
भोलिदेखि चल्ने संसद अधिवेसनमा दुई दल थपिए

काठमाडौं । संघीय संसद्‌को दुवै सदनको अधिवेशन भोलि बुधबारदेखि सुरु हुने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्‍ने सिटको व्यवस्थापन मिलाइ सकिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्‌को दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। यसपटक संघीय संसदमा नेकपा (एमाले) विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन्। संघीय संसद सचिवालयका प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलको लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिए। सबै दलका नेताहरु अगाडि रहने गरि र अन्य सदस्यहरु क्रमशः पछाडी रहने गरि दूरी कायम गरेर सिटको व्यवस्थापना मिलाइएको उनले जानकारी दिए। 

प्रतिनिधिसभामा सभामुखको दायाँ साइडतर्फ सत्तापक्ष र बाँया साइडतर्फ प्रतिपक्ष रहने गरि व्यवस्था मिलाएको उनले बताए। सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने उनले उल्लेख गरेका छन्। यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमशः नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहनेछन्। त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमशः नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहने गरि सिटको व्यवस्थापन मिलाइएको छ। स्वतन्त्र सांसदलगायत साना दलका सांसदहरुलाई भने बीचमा सिटको व्यवस्थापन गरिएको छ ।

बुधवारको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेश हुने उनले बताए। त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्‍चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए। संसद्‌को यस अधिवेशनमा संसदमा पेश भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद सचिवालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस