सप्तकोशीमा पानीको बहावमा उतारचढाव

रासस

मंगलबार, १५ भदौ २०७८, १२ : ३१
सप्तकोशीमा पानीको बहावमा उतारचढाव

सप्तरी । सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । 

आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव  थियो । पछिल्लो समय वर्षा रोकिए पनि  बहाव घटबढ  हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनको भनाइ थियो ।

आइतबार साझ सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८  ढोका खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस