नक्कली फैसलाको बिगबिगी, हुँदै नभएका न्यायाधीशको हस्ताक्षर !

पत्रपत्रिकाबाट

बुधबार, ०५ बैशाख २०७५, ०८ : ००
नक्कली फैसलाको बिगबिगी, हुँदै नभएका न्यायाधीशको हस्ताक्षर !

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन् ।

फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले गत १४ मार्च २०१८ मा काठमाडौं जिल्ला अदालतसँग यसबारे जानकारी माग गर्‍यो । तर, दूतावासबाट प्राप्त फैसला र आदेश दुवै हेर्दा जिल्ला अदालतका कर्मचारी आश्चर्यचकित भए ।

यतिसम्म कि आदेशमा उल्लेख भएका न्यायाधीशको नाम कहीँ-कतै भेटिएन। आदेशको कानुनी ढाँचा र व्यहोरा पनि मिलेको देखिएन । जिल्ला अदालतका न्यायाधीश दीनानाथ पाठकको एकल इजलासले बच्चा विदेश लैजान लेखेको भनिएको मञ्जुरी आदेश पूरै फर्जी रहेको पत्ता लाग्यो ।

दूतावासमा जोशीको सम्बन्धविच्छेदलाई आधिकारिकता दिने गरी ०७० साल कात्तिक १४ गते आदेश भएको व्यहोरासहित निवेदन पेस भएको रहेछ । कल्पनाका पति भनिएका रामचन्द्र जोशीसँग ०६९ साल वैशाख १९ गते सम्बन्धविच्छेद भएकाले उनीहरूबाट जन्मेका नाबालक छोरा प्रदेशराज र सेवकराजलाई बेलायत लैजान कुनै बाधा नरहेको सो आदेशमा उल्लेख छ ।

सोही प्रकरणमा फैसला गर्ने भनिएका अर्का न्यायाधीश दीपकराज पन्त पनि त्यो समयमा अदालतमा नरहेको रेकर्डबाट देखिन्छ । पन्तको नक्कली नाममा ०६९ साल वैशाख १९ गते फैसला लेखिएको छ । पन्तकै फैसलाका आधारमा नक्कली न्यायाधीश पाठकले मञ्जुरीका लागि आदेश दिएको फर्जी कागजातबाट देखिन्छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस