दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन

सफल खबर संवाददाता

शनिबार, २७ पुस २०८१, ०८ : ०४
दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वनवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । 

रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोगगरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताए । रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोगगरी गन्तव्यतर्फ पठाउने काम शुरू गरिएको उनले बताए । 

पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदासम्म  वैकल्पिक मार्गको प्रयोगगरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । 

रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोगगरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । 

करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ । दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्नेगरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ । 

विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको  शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो । ट्रक पुलको बीच भागमा नै फसेको छ ।

प्रतिक्रिया दिनुहोस