महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु, पार्टीको नाम लोसपा राख्ने कि लोजपा ?

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १३ : ०३
महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु, पार्टीको नाम लोसपा राख्ने कि लोजपा ?

काठमाडौं । महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु भएको छ । निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि नयाँ नामबारे छलफल सुरु भएको हो ।  

दल दर्ताका लागि पुनः निवेदन दिँदा के नाम राख्ने भनेर छलफल सुरु भएको एक नेताले बताए । भन्छन्, ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने कि लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्ने भनेर छलफल गर्दैछौं ।’

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि ठाकुर पक्ष दलविहीन जस्तै थियो । तर सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल दर्ता गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्षले बुधबार जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस