दैलेख । नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १ सय ५५ बोरा चामल गाडिएको हो ।
असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको र बिग्रिएको चामललाई मुचुल्का उठाएर विर्सजन गरिएको बताए । गाउँमा निरन्तरको कोभिडको समस्याले धेरै समय गोदाममै रहेपछि चामल बिग्रिएको उनको भनाइ थियो ।
जनताले तिरेको करबाट खरिद गरिएको चामल गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण कुहिएकाले आक्रोशित जनसमूहले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको स्थानीयवासी छेत्रप्रताप सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २६ साउन २०७८, १२ : ०९
लेखकबाट थप