बीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारीलाई पदमुक्त गर्न प्रक्रिया थालिने

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १२ : ३०
बीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारीलाई पदमुक्त गर्न प्रक्रिया थालिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । बुधबार मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच सहमति भएको हो ।

सहमतिमा अभियानले माग गरेबमोजिम प्रतिष्ठानका चार पदाधिकारीहरू उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित रेक्टर डा. गुरुप्रसाद खनाल, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक ड. गौरीशंकर साहलाई हटाउन आजैबाट प्रक्रिया सुरु गरिने उल्लेख छ । सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ.मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने ।

त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै महाशाखा तोक्ने उल्लेख छ ।

सहमतिसँगै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् । करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । उक्त आन्दोलन काठमाडौंसम्म फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस