विवेकशील साझा पार्टीका चार नेता भन्छन्- संयोजकको प्रस्ताव उल्टो भयो

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १७ : १७
विवेकशील साझा पार्टीका चार नेता भन्छन्- संयोजकको प्रस्ताव उल्टो भयो

काठमाडौं । विवेकशील साझा पार्टीका चार नेताले आफ्नै संयोजक रवीन्द्र मिश्रद्वारा सार्वजनकि गरिएको दस्तावेजले पार्टीमा वैचारिक टकरावको स्थिति सिर्जना गरेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । विवेकशील साझा पार्टीका केशव दाहाल, रञ्जु दर्शना, डा राजेन्द्र पंगेनी र मिलन पाण्डेले काउन्टर डकुमेन्ट जारी गर्दै रवीन्द्र मिश्रमाथि कडा आलोचना गरेका छन् ।

चार नेताले मिश्रका विचारहरूको खण्डन गर्दै भनेका छन्, ‘अध्यक्षको यो प्रस्तावले पार्टीमा वैचारिक टकराबको स्थिति सिर्जना गरेको छ । साथै, यो प्रस्तावले पार्टी स्थापनाको औचित्य र हाम्रा कार्यभारहरूलाई समेत कमजोर बनाउने र पार्टीलाई अग्रगामी चरित्रबाट उछृंखल गर्ने खतरा बढेको छ । अतः यो प्रस्तावलाई सच्याउनैपर्छ ।’

संघीयताले काम राम्रो गरेन भन्दै खारेजीको माग गरेका मिश्रलाई उनकै पार्टीका नेताहरुको प्रश्न छ, ‘पार्टीले पनि खासै उपलब्धी हासिल गरेन भन्ने एउटा बुझाइ छ, अब के गर्ने त रु पार्टी पनि खारेज गर्ने ? ’

चार नेताले सार्वजनिक गरेको प्रस्तावमा उल्लेखित  रवीन्द्र मिश्रमाथिको टिप्पणी जस्ताको त्यस्तै – पार्टी अध्यक्ष रवीन्द्र मिश्रले नियतवश वा भुलवश आफ्नो पछिल्लो आलेखमा संघीयतालाई खारेज गर्नुपर्ने र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । वहाँको निजी विचार भएता पनि अध्यक्षको यो प्रस्तावले पार्टीमा वैचारिक टकराबको स्थिति सिर्जना गरेको छ ।

साथै, यो प्रस्तावले पार्टी स्थापनाको औचित्य र हाम्रा कार्यभारहरूलाई समेत कमजोर बनाउने र पार्टीलाई अग्रगामी चरित्रबाट विश्रींखलित गर्ने खतरा बढेको छ । अतः यो प्रस्तावलाई सच्याउनैपर्छ र त्यसका लागि सबैले वस्तुनिष्ठ र गम्भीर छलफल गर्नुपर्छ ।

अध्यक्षले आफ्नो आलेखमा जे–जस्तो प्रस्ताव गर्नुभएको छ, वहाँले पार्टीका मौजुदा दस्ताबेज र स्वयं वहाँले हस्ताक्षर गर्नुभएको निर्णयहरूमाथि ध्यान नदिएको देखिन्छ ।हामीले पार्टी स्थापना गर्दा जारी गरेको घोषणापत्र, विधान, पार्टीले बनाएका पछिल्लो समयका दस्ताबेजहरू, पछिल्लो निर्वाचन घोषणापत्र र केहि महिना अघि मात्र विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण हुँदा गरिएको एकताको घोषणापत्रमा यस्ता विषयहरूमा हाम्रो स्पष्ट अडान र प्रतिवद्धता छ ।

हामीले भनेका छौँ, यो पार्टी जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै अगाडि जाने संकल्प गर्दछ । पार्टी एकता गर्दा, हामीले संविधानको मूल भावनालाई स्वीकार गर्ने र अझ अगाडि जाने साझा धारणा बनाएका थियौँ । जसलाई तत्कालीन दुवै पार्टीको केन्द्रीय समितिले पारित गरेको थियो । यी विषयहरूमा यो नै हाम्रो पार्टीको आधिकारिक धारणा हो ।

हामीले माथि प्रशस्तै चर्चा गरेका छौं कि हाम्रो पार्टी जनआन्दोलनका उपलब्धिहरूको जगमा बनेको पार्टी हो । हामीले पार्टी स्थापना गरिरहँदा, यो पार्टीले मूलतः नेपालमा राजनीतिक आन्दोलनको युग सकिएको, ७० वर्षको बलिदानबाट पछिल्लो परिवर्तन प्राप्त भएको, संविधानसभाबाट संविधान बनेको र नयाँ, आधुनिक र लोकतान्त्रिक युग प्रारम्भ भएको निष्कर्ष निकालेका हौँ । त्यही निष्कर्षका आधारमा हामीले सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिका लागि कल्याणकारी लोकतन्त्रको प्रस्ताव गरेका हौँ ।
 

प्रतिक्रिया दिनुहोस