जटिल सुरुङमार्ग र विशेष पुल बनाउन चिनियाँ टोली नेपालमा

पत्रपत्रिकाबाट

शुक्रबार, १५ साउन २०७८, ०८ : १५
जटिल सुरुङमार्ग र विशेष पुल बनाउन चिनियाँ टोली नेपालमा

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईवटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी आएको १ महीनापछि पहिलो प्याकेजको टोली काठमाडौंमा आएको हो ।

पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडको अधिकारी बुधवार नेपालमा आएको नेपाली सेनाले जानकारी दिएको छ । सेनाको व्यवस्थापनमा निर्माणाधिन द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउने टोली असार ९ गते काठमाडौंमा आई हाल साइटमा खटिएको छ ।

सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले चाइना स्टेटका २३ जनाको टोली आइसकेको र १० दिन क्वारेन्टाइनमा बसेपछि फिल्डमा खटिने जानकारी दिए । कारोना संक्रमणकै बीचमा कम्पनीको टोली नेपाल आएपछि तोकिएकै समयमा आयोजना सम्पन्न गर्न थप सहजता हुने सेनाको विश्वास छ । दु्रतमार्गमा ती ३ स्थानमा सुरुङमार्ग र १६ ओटा जटिल खाले पुल निर्माणका लागि चिनियाँ २ कम्पनीसँग वैशाख ३१ ग्ते ठेक्का सम्झौता भइसकेको छ ।
द्रुतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किलोमीटर रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस