बागमती सरकारले गर्यो २ वटा विधेयक प्रमाणीकरण

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १४ : १८
बागमती सरकारले गर्यो २ वटा विधेयक प्रमाणीकरण

बागमती । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारका २ विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानका धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मंगलबार प्रमाणीकरण गरेको २ वटा विधेयकलाई प्रदेश प्रमुख प्रसाईले बुधबार प्रमाणीकरण गरेका हुन् ।

गतअसार २७ गतेको प्रदेशसभा बैठकले पारित गरेको प्रदेश सरकारको विनियोजन विधेयक र असार २८ गतेको प्रदेशसभा बैठकले पारित गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई प्रदेश प्रमुख प्रसाईले बुधबार प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ । 

ती दुई विधेयकहरुलाई प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट मस्यौदाको अन्तिम प्रमाणीकरण गरी प्रदेशसभामार्फत् सिफारिस भएअनुसार प्रदेश प्रमुख प्रसाईले संवैधानिक प्रक्रिया पुरा गरि प्रमाणीकरण गरेका प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए । 

उक्त २ विधेयकलाई आगामी साउन १ गतेबाट कार्यान्वयन गर्नुपर्ने भएकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मुद्रण इकाइले तत्काल राजपत्रमा प्रकाशन गर्ने तयारी गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस