लुम्बिनी  प्रदेशसभामा बजेटमाथिको छलफल सकियो

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १८ : ०१
लुम्बिनी  प्रदेशसभामा बजेटमाथिको छलफल सकियो

रुपन्देही । लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट माथिको छलफल सकिएको छ ।

असार १ गते प्रस्तुत भएको बजेटमाथि आइतबारबाट छलफल सुरु भएको थियो ।सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले असार ६ गतेको सदन बहिस्कार गरेपछि ९ गते बोलाइएको थियो । विपक्षीले पुनः बहिस्कार गर्ने भएपछि २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

आइतबार आयव्यय अनुमानमाथिको सामान्य छलफल भए पनि सोमबारबाट आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयकमा छलफल सुरु भएको हो ।

मन्त्रालयहरुको विभिन्न शीर्षकमा समष्टिगत छलफलमा छलफलमा भाग लिंदै विपक्षी सांसदहरुले अल्पमतको सरकारले बजेट ल्याएको भन्दै प्रतिक्रिया दिएका थिए ।

त्यस्तै बजेट कार्यकर्तालाई बांडिएको भन्दै आलोचनासमेत भएको थियो । सत्तापक्षका सांसदले भने विकास र समृद्धिलाई लक्षित गरेर बजेट आएको बताएका थिए ।

मंगलबार छलफल सकिएपछि अब बिहीबार प्रदेशका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । सोही दिन बजेट निर्णयार्थ पेश हुनेछ । सरकारलाई वैधानिकताको प्रश्न उठाएको विपक्षी गठबन्धनले सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि प्रकृयामा लगेको आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस