वाग्मती प्रदेश : अर्थसम्बन्धी विधेयक पारित

रासस

सोमबार, २८ असार २०७८, ११ : ५८
वाग्मती प्रदेश : अर्थसम्बन्धी विधेयक पारित

वाग्मती । वाग्मती प्रदेशसभाको आज बिहान बसेको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ ।बैठकमा उक्त विधेयक पारित गरियोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्ताव टेबुल गरेका थिए । उक्त विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासामा मन्त्री ढुङ्गेलले सरकारले प्रस्तुत गरेको विधेयकमा करको दायरा बढ्दा पहुँचमा नरहेका सर्वसाधारण, निजी व्यवसायी र उद्यमीले कुनै कठिनाइ भोग्न नपर्ने तथा सरकारको कर राजस्व असुलीमा तीव्रता ल्याइने धारणा व्यक्त गरे। 

उनले प्रदेश सरकारले जनताको बृहत् हितका लागि चालिने कदम र राष्ट्रिय गौरवका आयोजनाको विनियोजित बजेट बाँडफाँट गरिँदा सत्ता र प्रतिपक्षी भनेर कसैलाई पनि उपेक्षा नगरी समान व्यवहारका साथ कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गरे ।

बैठकमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए । ती दुवै प्रस्तावलाई बैठकले सम्बन्धित समितिमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ । 

यसैगरी सो बैठकमा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आलेमगरले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन २०७८ पनि आजै पेश गरे । 

उक्त बैठकमा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ माथि प्रदेशसभाका सदस्यले छलफलमा सहभागी हुँदै सरकारले प्रस्ताव गरिएको कर राजस्व असुली सम्बन्धमा सर्वसाधारण, उद्यमी र निजी व्यवसायीलाई आर्थिक बोझ नपर्ने गरी सन्तुलित ढङ्गबाट दायरा बढाउन आग्रह गरे।

उनीहरुले सरकारले प्रतिपक्ष र अर्थ विज्ञसँग बसेर विचारविमर्श गरेर मात्र राजस्वको दायरा बढाउन उपयुक्त हुने, कोभिड सङ्क्रमणका कारणबाट दैनिक ज्याला मजदूरी गर्ने विभिन्न व्यवसायमा संलग्न व्यक्तिलाई रोगजारीका अवसरबाट बञ्चित रहनुपरेका अवस्थामा उनीहरुबाट कर असुलीको दायरा बढाउँदा मानवीय संवेदनशीलता हुनुपर्ने सुझाव प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस