काठमाडौँ । रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । सो अक्सिजन प्लान्टको लागत रु १९ लाख ७४ भएपनि राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो ।
केन्द्रका बायोमेडिकल इञ्जिनीयर उमेर राईले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई सो प्लान्ट हस्तान्तरण गरे । विद्युत् आपूर्ति नभएको समयमा पनि स्वचालित रुपमा अक्सिजन सिलिण्डर सञ्चालन हुने गरी कोभिड–१९ आइसोलेशन केन्द्रमा सो मिनी प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष घर्तीमगरले बताउनुभयो । विद्युत् भएको बेला पनि ४७ लिटरका दुई वटा अक्सिजनका सिलिण्डर स्वचालित रहने अध्यक्ष घर्तीमगरले बताए ।
अक्सिजन प्लान्टको प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको बताइएको छ । मिनी प्लान्ट जडानका लागि केन्द्रले सात प्राविधिक उपलब्ध गराएको थियो । हाल २० शय्या सञ्चालनमा रहेको सो आइसोलेशन केन्द्रका ११ शय्यामा सो अक्सिजन प्रवाह गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
केन्द्रले यसअघि पाँच लिटर क्षमताका पाँच अक्सिजन कन्सन्ट्रेटर र आठ थान पिपिई सेट सहयोग गरेको थियो । अधिकांश सहयोग सुगम र शहर बजारमा मात्रै केन्द्रित भइरहेको बेला केन्द्रले थवाङलाई रोजेकामा अध्यक्ष घर्तीले खुशी व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ असार २०७८, १९ : ३६
लेखकबाट थप