एमाले कार्यदलको बैठक बस्दै, हस्ताक्षरसहितको मस्यौदालाई स्थायी कमिटीमा लैजाने

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, ०८ : ५५
एमाले कार्यदलको बैठक बस्दै, हस्ताक्षरसहितको मस्यौदालाई स्थायी कमिटीमा लैजाने

 काठमाडौं । नेकपा एमालेको विवाद समाधानको लागि बनेको कार्यदलको बैठक केहीबेरमा बस्दैछ ।

कार्यदलले तयार पारेको ९ बुँदे मस्यौदामाथि सामान्य छलफल गरी कार्यदलका १० जना सदस्यहरुले हस्ताक्षर गर्नेछन् । हस्तक्षरसहितको मस्यौदालाई स्थायी कमिटीमा लैजाने र मनुमोदन गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले बताए । 

एमाले एकताको सहमति मस्यौदालाई स्थायी कमिटीले अनुमोदन गरेसँगै एमालेभित्रको बाहिर देखिएको विवाद समाधान हुनेछ । सर्वोच्च अदालतको फैसलाअघि नै एमाले एक भएको सन्देश दिन मस्यौदालाई अन्तिम रुप दिएर आजै स्थायी कमिटीमा पेस गरिने सहमति बनेको छ । 

सहमति मुलतः एमालेलाई २०७५ जेठ २ अघिको संरचनाबाट अघि बढाउने र यसबीचमा बनेका समानान्तर कमिटीहरुको व्यवस्थापनका लागि कार्यदललाई सशक्त बनाउने कोणबाट भएको एक सदस्यले बताए ।

सर्वोच्च अदालतको सम्भावित फैसलाबारे केही बोल्न आवश्यक नरहेको माधव नेपाल पक्षका कार्यदलका एक सदस्यले भने । एमाले एकता भएपछि विपक्षी समूहको गठबन्धनमा माधव नेपाल नरहेको सन्देश स्वतः जाने ती नेताले बताए । 

कार्यदलमा २०७५ जेठ ३ गतेको नेकपा एमालेको अन्तिम बैठकले माओवादीसँग एकता गर्नुअघि थपिएका ४१ जना केन्द्रीय सदस्य तथा नेकपा विघटनपछि एमालेमै रहेका २३ जना पूर्व माओवादी केन्द्रीय सदस्यलाई समेत सम्बोधन हुनेछ । 

प्रतिक्रिया दिनुहोस