कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १६ : ३२
कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १५ औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । प्रदेशसभाको आठौँ अधिवेशनको १५ औँ बैठक बिहीबार बसेको थियो । एमालेले लगातार अवरुद्ध गर्दै आएको बैठक यसपटक पनि कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगित भएको छ ।

एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ । बिहीबारको बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको बारेमा बोलेका थिए । उनले भने, ‘हाम्रो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको छ । यसतर्फ सरकारको ध्यान किन छैन ? ३९ सिट रहेको प्रदेशसभामा २० सिट एमालेको हुँदाहुँदै पनि १८ सिट रहेका दुईटा दलहरुले सरकार चलाइरहेका छन् ।’

उनले नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमा यो कत्तिको सत्य हो भन्दै भालुको कथा समेत सुनाउन भ्याए । रावलले प्रदेशभन्दा केन्द्र सरकारमा केन्द्रीत रहेर भाषण दिए । मदन भण्डारी हाइवे, अपर तामाकोशी जस्ता देशका प्रतिष्ठित योजनाको चर्चा परिचर्चा गरे । झण्डै १४ मिनेट चलेको सदनमा रावलले ११ मिनेट जति आफ्नै पार्टीको गुनगान गाउन र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामको प्रसंशा गर्न मात्र खर्च गरे । रावलले कर्णालीको अन्तर्राष्ट्रिय स्तरमा छवि विग्रनेगरी सरकार अघि नबढोस् भन्दै आफ्नो भाषण टुङ्ग्याए ।

त्यसपछि प्रतिपक्ष दल रोष्टममा विगत जस्तै उभिरह्यो । सभामुखले पटक–पटक आसन ग्रहण गर्न अनुरोध गर्दा पनि नटेरेपछि सभामुख शाहीले असार २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस