सुजिताको रहस्यमय मृत्युको विरोधमा आफन्तले गरे राजमार्ग अवरूद्ध (भिडियोसहित)

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, ११ : २५
सुजिताको रहस्यमय मृत्युको विरोधमा आफन्तले गरे राजमार्ग अवरूद्ध (भिडियोसहित)

चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव भिरमा फेला परेको छ। राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फेला परेको थियो।

उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ। सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन्।

भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ। उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।

उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन्। प्रहरीले घटना सामसुम पार्न खोजेको आरोप स्थानीयको छ। जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको शव भिरालो जमिनको लहरोमा अड्किएको अवस्थामा फेला परेको बताए।

शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ। उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ। भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

उनी असार ११ देखि हराइरहेकी थिइन्। उनलाई अपहरण गरेको हुन सक्ने परिवारको भनाइ थियो। उनीहरूले प्रहरीमा निवेदन पनि दिएका थिए। प्रहरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस