अनाथ बालबालिकालाई पढाउँदै चौकुने गाउँपालिका

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०८१, १३ : २२
अनाथ बालबालिकालाई पढाउँदै चौकुने गाउँपालिका

सुर्खेत। सुर्खेतको पश्चिममा रहेको चौकुने  गाउँपालिकाले अनाथ बालबालिकाहरूलाई बालगृहमा राखेर शिक्षा दीक्षा दिइरहेको छ । गाउँपालिकाले सुर्खेतका मात्र नभएर छिमेकी जिल्ला दैलेख र अछामका बालबालिकालाई समेत बालगृहमा राखेको छ । जसका लागि वार्षिक रूपमा प्रतिविद्यार्थी ४० हजार रूपैयाँ विनियोजन गर्ने गरिएको छ ।

चौकुने-७ सान्नेघारीमा रहेको शिद्धेश्वरी बालगृहमा हाल १८ जना बालबालिका छन् । उनीहरूको खानपानमा हेरचाहका लागि एक जना महिलालाई राखिएको छ । २०७६ सालमा स्थापना भएको बालगृह हाल सानोडाँडा सामुदायिक वन उपभोक्ता समितिको भवनमा सञ्चालन भइरहेको छ । नयाँ भवन निर्माणका क्रममा छ ।

बालगृहमा बसिरहेका अधिकांश बालबालिकाका बाबुआमा छैनन् । केही बालबालिकाका बुवा भएका तर, आमा नभएको वा आमाले अर्को विवाह  गरेर गएका छन् । उनीहरूलाई स्थानीय शिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ ।

 

 

 

 

 

विद्यालयका प्रधानाध्यापक रतनसिंह थापाले अहिले पालिकाले सहयोग गरिरहेका कारण बालबालिकालाई खान/बस्न समस्या नभएको बताए । बालगृहका लागि थप एक शिक्षक र एक जना चौकीदार राख्न सकेको खण्डमा उनीहरूको पढाइ र हेरचाहमा सहयोग पुग्ने बताए ।

हरेक शनिबार माछा/मासु खुवाउने गरिएको गृहको भान्सामा दाल, चामल र तरकारी पाक्ने गरेको बालगृहकी ‘भान्सेआमा’ देविसरा न्यौपानेले बताइन्। उनले गृह हाल दर्ता भई पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिइन् । 

 

 

गाउँपालिकाका अध्यक्ष खड्क विकले पालिकाले ती विद्यार्थीहरूको भविष्य अन्धकार नहोस् भन्ने ध्येयका साथ लगानी गरेको बताए । ‘हामीले अहिले वार्षिक रूपमा प्रतिविद्यार्थी ४० हजारका दरले बजेट विनियोजन गरिरहेका छौं’, अध्यक्ष विकले भने, ‘हामीसँग सीमित स्रोत साधन भएकाले थोरै व्यवस्थापन गर्न सकेका हौं ।

निर्माणाधीन बालगृह

बालगृहका लागि प्रदेश सरकारले भवन निर्माणमा बजेट विनियोजन गरेको छ । तर, भवन पूर्ण भइसकेको छैन । गत आर्थिक वर्षमा पचास लाख बजेट विनियोजन गरेको प्रदेश सरकारको शिक्षा निर्देशनालयबाट भवन निर्माण भइसकेको छ भने अब चालु आर्थिक वर्षका लागि थप पचास लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो बजेटबाट बालगृहको घेरबार, रंगरोगन, प्लाष्टर आदि काम गर्ने प्रदेशसभाका सार्वजनिक लेखा समितिका सभापति एवं पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताए ।

पालिकाले आँट गरेर अनाथ बालबालिकालाई लालनपालन र शिक्षा दीक्षाको व्यवस्था गर्दै आइरहेको छ । यो महत्त्वपूर्ण कार्य भएका कारण प्रदेश सरकारबाट ती बालबालिकाका लागि आवास भवन निर्माण गर्न बजेट विनियोजन गरिएको विष्टले बताए । ‘अब भवन निर्माण सम्पन्न भएको खण्डमा अनाथ बालबालिका सुरक्षित हुनेछन् भने अरु थप बालबालिकालाई पनि राख्न सकिने छ’, पूर्वमन्त्री विष्टले भने । 

प्रतिक्रिया दिनुहोस