काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले आशिका तामाङलाई गलत नियतवस प्रहरीले हिरासतमा राखिरहेको भन्दै आपत्ति जनाएकी छन् । उनले आज संसदीय समितिमा बोल्दै सबै नागरिकहरूलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज गौतमले आशिकाको प्रसंग निकालेकी हुन् । राज्यले आशिकालाई कसै गरे पनि छोड्नुहुँदैन भन्ने नियत राखेको आरोप उनले लगाइन् ।
गौतमले भनिन्, ‘विगतमा बहालबाला मन्त्रीज्यूले आइजिपीको जिभ्रो थुत्नुपर्छ भन्दा त्यो अभद्र व्यवहार भएन, उहाँलाई प्रहरीले सलाम गरेर हिँड्नुपर्छ । आशिका तामाङले प्रहरीलाई हु आर यू भनेर प्रश्न गर्दा अभद्र भयो ? कानूनको बराबर प्रयोग यही हो ?’
अभद्र व्यवहारका नाममा पक्रिएर आतंकित पार्न खोजिएको उनले बताइन् ।
‘एउटा ठाउँबाट अभद्र व्यवहारमा पक्रियो । आतंकित बनायो । ८(१० दिन थुनामा राखिसकेपछि धरौटीमा छुटेपछि फेरि अर्को आरोपमा समाइयो । यो मान्छेलाई कसैगरी पनि छोड्नुहुँदैन भन्ने प्रवृत्त धारणा राज्यले राखेको देखियो । तीन महिना अगाडि गरेको कामलाई लिएर अहिले धरौटीमा छुटेपछि समाइएको छ । अढाई(तीन वर्षको दूधेबच्चा भएकी एउटी आमाको संवेदनशील अवस्थालाई ध्यान नदिई कन हतकडी लगाएर राख्ने ?’, गौतमले प्रश्न गरिन् ।
उनले थपिन्, ‘प्रहरीले आवश्यक पर्दा एक्सेसिभ फोर्स प्रयोग गर्न पाउँछ, तर त्यसको विवेकशीलता हुँदैन ? नागरिकले यहाँ गलत भयो भनेर उठान गरिरहेको छ, त्यो म्यानेज गर्न सक्दैन, जनतालाई सन्तुष्ट गराउन सक्दैन, अनि पब्लिकको आक्रोश पोखिएपछि धेरै बोल्छस् भनेर पक्रेर लैजाने प्रवृत्ति ठिक भएन । यो सह्य छैन । प्राकृतिक न्याय र संविधानमा लेखिएका मौलिक हकको विरुद्धमा छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोविताले भेटिन् बाबुराम
राष्ट्रिय दलका युवाहरूले गाँजा र रक्सीको नशामा मलाई दुर्व्यवहार गरे : सोविता गौतम
सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ : सोविता गौतम