झापा । मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन सुरु हुने भएको छ । यसका लागि अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।
अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन उत्पादन शुरु गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ सरकारको रु एक करोडको सहयोगमा सो प्लान्ट निर्माण भएको हो । प्लान्ट खरिदमा रु ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरिदलगायतमा खर्च गरिने छ ।
झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहेपनि त्यसले अक्सिजन प्लान्ट बनाएका छैनन् । अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो । अस्पतालले असार मसान्तभित्र सीटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । सीटी स्क्यान सञ्चालनका लागि सरकारले रु ६ करोड सहयोग गरेको छ । हाल पाँच वटा मृगौला डाइलासिस मेसिन रहेको अस्पतालले चालू आर्थिक वर्षभित्रै थपेर १५ वटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलको भनाइ छ ।
साविक मेची अञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ । नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मृगौला रोगीलाई डाइलासिस सेवा पुर्याउन सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ असार २०७८, १५ : २०
लेखकबाट थप