काठमाडौँ । सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताए ।
सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । एक मात्राको १४ डलरमा खरिद गरेको दाबी स्रोतको छ ।
जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो ।
सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । पहिलो मात्रा लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना दोस्रो मात्राको पर्खाइमा छन् । त्यस्तै अन्य मुलुकसँग पनि खोप ल्याउने चर्चा मात्र भएको छ, परिणाम निस्केको छैन । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ असार २०७८, ०८ : ११
लेखकबाट थप