सभामुख सापकोटाद्वारा विपद् प्राधिकरणका पदाधिकारीसँग छलफल

रासस

मंगलबार, ०८ असार २०७८, १९ : २०
सभामुख सापकोटाद्वारा विपद् प्राधिकरणका पदाधिकारीसँग छलफल

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन् । 

उहाँले बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च नेतृत्व र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग अलग अलग छलफल गरेका हुन् ।  

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलिले सिन्धुपाल्चोक, मनाङ्, चितवनलगायत देशकाविभिन्न स्थानमा बाढी पहिरो र डुबानले पु¥याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यका बारेमा  जानकारी गराए ।

सो अवसरमा सभामुखले विपद्ग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार कार्य अगाडि बढाउन, विपत्तिबाट समस्यामा परेकालाई यथासक्य छिटो सम्बोधन गर्न र सबै भन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन आग्रह समेत गरे । 

उनले यसअघि गतआइतबार विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञहरुसँग छलफल गरेका थिए । देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनस्र्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रीत सो छलफलका सहभागीहरुले  ७७ जिल्लामध्ये भूगोल र मौसमका हिसाबले सो जिल्ला  निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताए ।  

विज्ञले पूर्व तयारीका लागि पूर्व सूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदि नियन्त्रणका क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने बताए । सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको  नमूना योग्य काम गरी देशका अन्य स्थानमा पनि सो विधिलागू गर्न सकिने उहाँहरुको सुझाव थियो । छलफलमा विज्ञहरु डा.गंगालाल तुलाधर, डा.हरिकृष्ण श्रेष्ठ, डा.रञ्जनकुमार दाहाल, डा.कृष्ण देवकोटा र डा.रविनराज निरौला सहभागि थिए ।  

सभामुख सापकोटाले आजै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनु भएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस