खेल क्षेत्रको विकासका लागि अझ राम्रो के गर्न सकिन्छ सुझाव दिनुस् : खेलकुद मन्त्री मियाँ

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, १५ : ४३
खेल क्षेत्रको विकासका लागि अझ राम्रो के गर्न सकिन्छ सुझाव दिनुस् : खेलकुद मन्त्री मियाँ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफु खेल क्षेत्रको विकासको लागि खेल क्षेत्रका व्यक्तित्वहरु सँग आवश्यक सल्लाह–सुझाव मागेका छन् । शनिबार ओलम्पिकि डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफुले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालय भन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गरेका हुन् ।

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएको भन्दै त्यस निम्ति खेल क्षेत्रका व्यक्तिहरुको सुझाव र सहयोग आवश्यक रहेको उनले बताए । उनले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बनाउनको लागि टिम बनाउने पनि बताए ।

उनले भने, ‘मन्त्रालयलाई अझ राम्रो कसरी लान सकिन्छ त्यसमा मेरो बढी ध्यानाकर्षण भएको छ । कसरी सहकार्य गरेर राम्ररी रणनीति बनाएर, प्लान बनाएर मन्त्रालय र अरु सम्बन्धित सबैलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर मेरो ध्यान अगाडी बढेको छ । खेल क्षेत्रको विकासका लागि राय, सल्लाह, सुझाव दिनुस् । राष्ट्रिय खेलकुद परिषद्को ऐन आइसकेको छ । अब नियमावली पनि बनाउने म चाँडै टिम तयार पार्दैछु । कानुन विज्ञ, खेलका विज्ञहरुलाई ड्राफ्ट उपलब्ध गराउँछु । त्यसमा के थपेर जाँदा हुन्छ छलफल गरौँ । अझ राम्रो कसरी गर्न सकिन्छ, त्यसमा राय–सुझाव पाउँ ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रुपमा भातृत्व र मित्रता बढाएको बताए । खेलले शान्ति र विकासको कुरा अगाडी बढाइरहेको पनि उनले बताए । ओलम्पियनहरु धेरै मानिसहरुको प्रेरणाको स्रोत भएको पनि उनकोे भनाई छ ।

उनले भने, ‘खेल भनेको खेलाडीको मात्र होइन, खेलाडी प्रमुख हुन् । ओलम्पियनहरु प्रेरणाको स्रोत हुनुहुन्छ । ओलम्पियन भन्दा हरेक व्यक्तिलाई उत्साह भर्ने स्रोत व्यक्तिका रुपमा उहाँहरु हुनुहुन्छ । खेलकुदले भातृत्व, मित्रताका कुरा यि सबै कुराहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाइरहेको छ । यो महत्वपूर्ण कुराहरु हुन् । विकास, शान्तिको कुराहरु अगाडी बढाइरहेका छन् यी महत्वपूर्ण कुराहरु हुन् । त्यसैले हरेक समाजमा यसको आवश्यकता छ । हरेक समाजले शान्ति चाहिरहेको छ । विश्वले शान्ति चाहिरहेको छ । विश्वले आफ्नो संस्कृति समृद्ध बनाउन चाहिँरहेको छ । यि कुराहरु हामी ओलम्पिकको मार्फत् सन्देश दिन सक्छौँ । यसले विश्वमा भातृत्व विकास गर्न सक्छौँ ।’

उनले कोभिड १९ को प्रोटोकललाई मान्दै सुरक्षित भएर खेल क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताए । उनले ओलम्पिक डे को माध्यमबाट सबैले आफ्नो जीवनलाई सक्रिय बनाउने सन्देश दिन चाहेको पनि उल्लेख गरे ।
 

प्रतिक्रिया दिनुहोस