पार्टी एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई अस्पतालबाट नेता खनालको आह्वान

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १३ : ४९
पार्टी एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई अस्पतालबाट नेता खनालको आह्वान

काठमाडौं । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् । स्वास्थ्यमा गम्भीर समस्या भइ हाल नर्भिक अस्पतालमा उपचाररत उनले थप उपचारका लागि भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । 

‘एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु’, खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट९फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु ।’

उनले देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको उल्लेख गर्दै अन्तर संघर्षको पराकम्पन तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदै  अहिले एमालेसम्म परेका बताएका छन् । राष्ट्रिय एकता अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामी सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु’, खनालले विज्ञप्तिमा भनेका छन् ।  

एमाले सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको स्मरण गर्दै उनले जनताको चाहना र अपेक्षा विपरित पार्टी अघि बढिरहेकाले सच्चिन जरुरी रहेका बताएका छन् ।  उनले सबै मिलेर नै सफलता हात पार्न पनि बताएका छन् । 

उनले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू आज केहि दिनका लागि देश बाहिर जान लागेको पनि बताएका छन् । उनले भनेका छन्, ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।’ 

प्रतिक्रिया दिनुहोस