गण्डकीका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १३ : ३२
गण्डकीका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जनाएका छन् । विश्वासको मत लिन २ दिन अघि प्रदेशसभामा जानकारी गराउनुपने व्यवस्थाअनुसार आजै प्रदेशसभा सचिवालयलाई लिखित जानकारी गराइएको छ ।

मुख्यमन्त्रीमा नियुक्त हुन पोखरेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन जुटाएका थिए । पोखरेलले विश्वासको मत लिन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था आउनेछ ।

प्रतिक्रिया दिनुहोस