​को हुन् एमिकस क्यूरीमा सिफारिस ४ बरिष्ठ अधिवक्ता ?

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १० : २०
​को हुन् एमिकस क्यूरीमा सिफारिस ४ बरिष्ठ अधिवक्ता ?

काठमाडौं । प्रतिनिधीसभा विघटन मुद्दामा ९ असार देखि नियमिति सुनुवाई हुँदैछ । सर्वाेच्चमा यस सम्बन्धी परेका ३० रिट निवेदन मध्ये निवेदक तथा कांग्रेस सभापति शेरबहादुर देउवाको रिटमा सबैभन्दा पहिले ९ असारबाट सुनुवाई गर्ने तयारी सर्वाेच्चले गरेको हो ।

यसका लागि प्रधानन्यायाधिस चोलेन्द्र सम्शेर राणाको अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको सम्वैधानिक इजालस गठन भएको छ । यही इजालसले २६ जेठमा अदालतको सहयोगीका रुपमा नेपाल बार एसोसिएसनबाट २ जना र सर्वाेच्च बार एसोसिएसनबाट २ जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रुपमा सिफारिस गर्न संबैधानिक इजालसले माग गरेको थियो ।

त्यही आधारमा मंगलबार छुट्टाछुटटै रुपमा बसेको नेपाल बार एसोसिएसन र सर्वाेच्च बारको बैठकले एमिकस क्यूरीमा पठाउने वरिष्ठम अधिवक्ताहरुको नाम टुंगो लगाएर सिफारिस गरेको हो । नेपाल बारको बैठकले वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरीका रुपमा पठाउने गरी नाम सिफारिस गरेर पत्र समेत अदालतलाई लेखि पठाएको छ ।

एमिकस क्यूरीमा सिफारिस भएकामध्ये अधिवक्ता वैद्य पुष्पकमल दाहाल (प्रचण्ड) पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता नियुक्त भएका थिए । वैद्य तत्कालिन पूनरावेदन अदालतका न्यायाधीसका रुपमा काम समेत गरिसकेका ब्यक्ती हुन् । उनी एकेडेमिक रूपमा अब्बल मानिन्छन् । त्यस्तै वरिष्ठ अधिवक्ता मल्ल पाठक नेपाल बारकी निवर्तमान उपाध्यक्ष हुन् । मेलमिलाप र पारिवारिक कानुनकी ज्ञाता मल्ल पाठक पनि अनुभवी वरिष्ठ अभिवक्ताका रुपमा परिचित छिन् । 

सर्वोच्च बारबाट सिफारिस भएका कोमलप्रकाश घिमिरे प्रजातान्त्रिक लयर्स एसोसिएसन (डिएलए) सँग आबद्ध छन् । अर्का वरिष्ठ अधिवक्ता केसी काठमाडौं स्कुल अफ ल मा पढाउँदै आएका छन् । प्रमाण कानुनमा खास दख्खल राख्ने उनी पछिल्लो डेढ दशकदेखि राजधानीमै कानुन अभ्यास गर्दै आएका छन् । अदालतले एमिकस क्यूरीका सदस्यलाई आधा आधा घण्टाका दरले ४ जनालाई दुई घण्टा बहस गर्न दिने गरि पहिले नै समय समेत निर्धारण गरिसकेको छ ।

निवेदनका पक्ष विपक्षका वकिललाई १५, १५ घण्टा र एमिकस क्यूरीका अधिवक्तालाई आधा आधा घण्टाका दरले बहस गर्न दिने गरी सम्वैधानिक इजालसले समय निर्धारण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस