काठमाडौं । वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएकोमा भन्दै नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।
वागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलिपल्ट जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन अनुरोध गरेका थिए ।
वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरेको भन्दै नेकपा (एमाले) मकवानपुरको भ्रातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेका छन् । कांग्रेस वागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरीत भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको जनाएको छ ।
प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्दा दर्ता भएको प्रति आपत्ति जनाउनुभयो । उनले भने, ‘युवा संघको एउटा व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरी, जायरीको आधारमा दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति हाम्रो घोर आपत्ति छ । संविधान, कानुन, मुलुकको संसदीय मर्यादाको बर्खिलापमा गरिएको दर्ताप्रति हाम्रो घोर आपत्ति छ । यस्तो किसिमले दर्ता गरेर कानुनी कारबाही अगाडी बढाउन नमिल्ने कुरालाई जुन ढंगले बढाइयो यसप्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको छ । यसलाई तत्काल फिर्ता लिने काम भएन, यसलाई अगाडी बढाइयो भने नेपाली कांग्रेस संसदीय दल प्रदेश सभामा यसको डटेर प्रतिवाद गर्नेछ र जुनसुकै मुल्य चुकाउन पनि तयार छ ।’
कांग्रेसले नरोत्तम वैद्यमाथि मुद्धा चलाउनु गैर संवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनैपनि निकायलाई अधिकार नभएको बताएको छ । मुद्दा तत्काल फिर्ता लिन भन्दै कांग्रेसले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ जेठ २०७८, १७ : ३२
लेखकबाट थप