खगराज अधिकारीले गृहमन्त्रीमा बाजी मार्नुको रहस्य

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १३ : ५४
खगराज अधिकारीले गृहमन्त्रीमा बाजी मार्नुको रहस्य

काठमाडौँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा खगराज अधिकारीले गृहमन्त्रीमा बाजी मारेका छन् । गृहमन्त्रीमा नेकपा एमालेका नेता गोकुल बास्कोटा र महेश बस्नेतको चर्चा भए पनि पूर्वमन्त्री अधिकारीले बाजी मार्न पुगे । 

ओलीले खगराज अधिकारी नै किन रोजे ? एमालेका एक नेताका अनुसार गोकुल बास्कोटा र महेश बस्नेत दुबैले गृहमन्त्रीमा दावी गरेपछि ओलीले तेस्रो व्यक्ति खगराज अधिकारीलाई सारेका हुन् । ती नेताका अनुसार दुबैले गृहमन्त्रीमा दावी गरेपछि दुबैको रोजाइबाट अधिकारीलाई ओलीले गृहमन्त्रीमा ल्याएका हुन् । 

ओलीका विश्वासपात्र बस्नेत र बाँस्कोटा दुवैले गृहमै जान जोड गरेका थिए। तर दुईमध्ये एकजनालाई गृहमन्त्री बनाउँदा एकले अर्कोलाई स्वीकार्ने स्थिति नबनेपछि ओलीले दुवैका लागि स्वीकार्य हुने अधिकारीलाई गृहमन्त्री बनाएका हुन्। खगराज अधिकारी नेपालका पूर्व स्वास्थ्यमन्त्री हुन् । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा ओलीको प्यानलबाट स्वास्थ्यमन्त्री बनेका थिए ।  

बिसं २०१८ साल चैत्र २५ गते लेखनाथको बेगनासमा जन्मेका अधिकारी २०२९ सालमा स्थानीय आनन्द ज्योति माविको स्ववियु सभापति भएका थिए । अधिकारीले बिद्यार्थी राजनितिमा २०३७ सालमा केन्द्रिय स्वबियु सदस्य, २०४० र ४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुँदै अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए ।  विभिन्न राजनीतिक घटना क्रममा ५ पटकसम्म जेल जिवन बिताएका उनी एमाले कास्की सचिव हुँदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए ।

त्यसपछि पार्टीको सचेतक, केन्द्रीय विभागमा अनुशासन निरिक्षण, बैकल्पिक पोलिटब्युरो सदस्य को साथै गण्डकी संयोजक भई काम गरिसकेका छन् । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकिकरण पछि बनेको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हाल उनी केन्द्रिय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह इन्चार्ज हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आफूनिकट रहेका नेता खगराज अधिकारीलाई गृहमन्त्री बनाउँदा ओली सरकारले कात्तिक र मंसिरमा चुनाव भएको खण्डमा शान्ति सुरक्षा मजबुद हुने विश्वास गरेका छन् । प्रतिनिधि सभा विघटनबारेको मुद्दा अदालतमा विचाराधीन रहेका कारण चुनाव हुन्छ भन्ने निश्चित भने छैन। अधिकारी लामो समयदेखि प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन्।

पञ्चायतभर वामदेव गौतमनिकट रहेका अधिकारी बहुदलीय व्यवस्था आएपछि माधवकुमार नेपालसँग नजिक बने। त्यतिबेला गौतम गण्डकीका इन्चार्ज हुन्। तर गण्डकी अञ्चलमा नेपालले अधिकारीलाई कम वास्ता गरेपछि उनी ओली प्यानलमा गएका हुन् । ओली प्यानलमै रहेका कारण उनी यसअघि स्वास्थ्यमन्त्री बन्न पाए भने अहिले गृहमन्त्री बन्ने अवसरसमेत पाए । २०५१ को मध्यावधि निर्वाचन र २०५६ को आमनिर्वाचनमा अधिकारी कास्की १ बाट निर्वाचित भएका थिए। ०७४ सालमा कास्की १ बाट पुननिर्वाचित भए। एक पटक उनले टिकट पाएनन् । 


 

प्रतिक्रिया दिनुहोस