गण्डकी प्रदेशसभा बैठक सुरु : मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १२ : ४४
गण्डकी प्रदेशसभा बैठक सुरु : मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक अहिले सुरु भएको छ । प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन ।अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन ।

यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचनापछि प्रदेशसभा बैठक स्थगित भएको थियो । त्यसपछि वैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिननै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र २ वा त्यसभन्दा बढी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

मुख्यमन्त्रीविरुद्ध गठबन्धन बनाएका विपक्षीले बहुमत दाबी गर्दै प्रदेशप्रमुखसमक्ष गए पनि बहुमत नपुगेको भन्दै प्रदेश प्रमुखले गुरुङलाई नै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने आधार भने छैन । सरकार बचाउन र बनाउन ३१ सांसदको आवस्यकता पर्छ । प्रदेशसभामा एमालेका २७ सांसद छन । स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे मन्त्री बनाएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनले प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ आजै बिहानदेखि सम्पर्कविहीन भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद थापाले पनि पार्टीमा विद्रोह गरी मुख्यमन्त्रीमा गुरुङलाई सघाउने भन्दै आएका छन । सरसर्ती हेर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २९ मत देखिए पनि मन्त्री दीपक मनाङेको निश्चित छैन । अन्य दलका सांसदहरुले फ्लोरक्रस नगरे मुख्यमन्त्रीले विश्वासको मत पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस