बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुबिच छलफल

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १७ : २७
बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुबिच छलफल

काठमाडौं । वर्तमान राजनीतक परिस्थितिबारे विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी छ ।

उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आह्वानबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दिएको छ । 

ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित रिटमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बुझिएको छ । प्रचण्ड र देउवाबीच आज मध्यान्हबाट छलफल जारी थियो ।

देउवाले नेपालाई पनि छलफलका लागि बोलाएपछि नेपाल पनि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवानिवास पुगेको स्रोतले बतायो ।आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता निर्णय लिएका नेपाल देउवाको आशंका मेटाउन बुढानीलकण्ठ पुगेको पाइएको छ ।

आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस