नेपाल भेटेरिनरी एसोसिएशनले निःशुल्क हटलाइन सेवा सुरु गर्ने

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १६ : ५३
नेपाल भेटेरिनरी एसोसिएशनले निःशुल्क हटलाइन सेवा सुरु गर्ने

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएशनले कोभिड महामारीका बीचमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न ४ अंकको निःशुल्क हटलाइन सेवा भोली २५ गतेबाट सुरु गर्ने भएको छ । कृषकहरुको सहजताको लागि उक्त सेवा ११५९ डायल गरेर निःशुल्क रुपमा प्राप्त गर्न सकिने एसोसिएशनले जनाएको छ । 

पशुपन्छी पालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बर मार्फत निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि  हटलाइन फोन सेवा सुरु गरेको एसोसियशनले जनाएको हो   ।  

यो सेवा प्रदान गर्न नेपाल भेटेरिनरी एसोसिएशनसँग निम्बस कम्पनीले सहकार्य गरेको छ । निम्बस नेपालमा पशु पन्छीको पेलेट दाना उत्पादन गर्ने पहिलो कम्पनि हो। नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुँच करिब ३० प्रतिशत कृषककोमा मात्र पुगेको परिप्रेक्षमा यस कार्यले सेवा पाउनबाट बन्चित कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिने एसोसिएशनको दावी छ। 

गत वर्ष जस्तै यस वर्ष पनि नेपाल भेटेरिनरी एशोसिएसन र यसका प्रादेशिक कमिटिहरुबाट टेलिमेडिसिन परामर्श सेवा संचालन समेत गरेको छ । टेलिमेडिसिन परामर्श सेवाका निम्ति एसोसिएशनले देशभरबाट करिब  ३०० पशु चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ। टेलिमेडिसिनको परामर्श सेवा आवश्यकताका अनुसार भिडियो प्रविधि मार्फत पनि हुनेछ।  

निषेधाज्ञाको अवधिमा कृषकहरु पशु चिकित्सककोमा पुग्न समस्या पर्ने र फिल्डमा नगई नहुने उपचार बाहेकका अन्य सामान्य परामर्श, घरेलु उपचार वा व्यवस्थापकीय पक्षमा प्राविधिक परामर्शले समेत कृषकको लागि फाइदा लिन सक्ने एसोसिएशनले जनाएको छ । यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको एसोसिएशनले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस