मापदण्डविपरीत सडक निर्माणको विरोधपछि कामचलाउ मर्मत

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, ११ : ५५
मापदण्डविपरीत सडक निर्माणको विरोधपछि कामचलाउ मर्मत

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको चक्रपथमा कालोपत्र गर्दा कमसल निर्माण सामग्री प्रयोग भएकामा व्यापक विरोध भएपछि निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रमाथि अलकत्रा र भुटेको बालुवा हालेको छ ।स्थानीयवासीको  विरोध र विभिन्न सञ्चारमाध्यममा खबर आएपछि  नगरपालिकाको टोलीले गरेको सडकको अनुगमनका क्रममा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्र सडक बनाएको पाएपछि  नारायणम रेखा जेभी निर्माण सेवालाई कमजोर सडक पुनः नबनाए कालोसूचीमा राख्न सिफारिशलगायत कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

यसरी कालोपत्र सडकमा अलकत्रा र भुटेको बालुवा राख्दा गिट्टी चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइए पनि निर्माण भइरहेका ठाउँमा कालोपत्र नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको, खुट्टाले कोट्याए जमीन देखिने समस्या आएपछि पालिकाले अनुगमन गरेको हो ।

सडकको सबबेस र बेसको काम राम्रो रहे पनि कालोपत्र गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठूलो गिट्टी प्रयोग गरेको हुँदा यस्तो समस्या देखापरेको भए पनि खासमा त्यहाँ प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर भएको प्रारम्भिक अनुमान गरिएको छ । अलकत्राको गुणस्तर कमजोर भएको÷नभएकोबारे प्रमाणित गर्न उपमहानगरपालिकाको प्रयोगशालामा परीक्षणका लागि पठाउन लागिएको नगरपालिकाका इञ्जीनियर सन्तोष चन्दले बताए।

प्रतिक्रिया दिनुहोस