काठमाडौं । यही जुन १३ देखि ब्राजिलमा तय गरिएको कोपा अमेरिका फुटबल तोकिएको मितिमा सुरु हुनेमा अझै अन्योल छ ।दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो र विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करण आयोजनाको विपक्षमा खेलाडीहरु नै छन् ।
यसअघि अर्जेन्टिनामा हुने भनिएको कोपा कोरोनाको कारण ब्राजिलमा सारिएको थियो । तर ब्राजिलकै कप्तान कासेमिरोसहित खेलाडीहरु र अन्य देशका खेलाडीहरु पनि यसको विपक्षमा छन् ।
प्रतियोगिता सुरु हुनु एक साता बाँकी रहँदा यसको अनिश्चितता बढेको छ । सुरुमा अर्जेन्टिना र कोलम्बिया आयोजकको रुपमा थिए । राष्ट्रपतिविरुद्ध प्रदर्शनका कारण कोलम्बयालाई आयोजकबाट हटाइएको थियो ।
केही देशका कप्तानहरु कोपा अमेरिका अहिलेको अवस्थामा रोक्न चाहन्छन् ।ब्राजिलका कप्तान कासेमिरो यसअघि विश्वकप छनोट अन्तर्गत इक्वेडरविरुद्धको खेलअघि प्रिम्याच कन्फ्रेन्समा पनि उपस्थित भएनन् ।
कासेमिरोसँगै नेमारले प्रतियोगिता तोकिएकै समयमा सुरु गर्ने वा नगर्ने भनेर अन्य देशका कप्तानहरुसँग छलफल गरेका थिए ।यस्तै कोलम्बियाका जुवान क्वाड्राडोले पनि प्रतियोगिताको विपक्षमा छन् । कोलम्बियन एसोसिएसन अफ प्रोफेसनल पुटबलर्सले स्टेटमेन्ट जारी गर्दै कोभिड-१९ को चुनौतीका बेला प्रतियोगिता गर्ने विषयमा चिन्ता व्यक्त गरेको छ । त्यसलाई क्वाड्राडोले सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन् ।
यसैगरी उरुग्वेका खेलाडी लुइस सुआरेज, एडिनसन कभानी र फर्नान्डो मुस्लेराले सार्वजनिक रुपमै प्रतियोगिताको विषयमा आपत्ति जनाएका छन् । ‘तपाईंले स्वास्थ्यमा प्राथमिकता दिनुपर्छ । म कोपा अमेरिका खेलाउने विपक्षमा छु,’ सुआरेजले भनेका छन् ।
अर्जेन्टाइन कप्तान लिओनल मेस्सीले भने अहिलेसम्म यसबारे सार्वजनिक रुपमा धारणा राखेका छैनन् । तर मुन्डो डेपोर्टिभोका अनुसार मेस्सीले ब्राजिलियन खेलाडीहरुसँग उस्तै विचार राखेका छन् ।
स्पेनबाट अर्जेन्टिना पुगेपछि सर्जियो अगुएरोले यसअघि नै ब्राजिलमा प्रतियोगिता गर्न गाह्रो भए त्यहाँ खेल्न नसकिने प्रतिक्रिया दिएका थिए ।दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले भने ब्राजिलमा जुन १३ देखि नै प्रतियोगिता सुरु गर्न योजना अघि बढाइसकेको छ र चार शहरमा कोपा अमेरिका गर्ने जनाएको छ ।उद्घाटन खेल जुन १३ मा ब्राजिल र भेनेजुएलाबीच हुने तय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ जेठ २०७८, ११ : २८
लेखकबाट थप