काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो।
कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नगराउने निर्णय गरेको छ। निगमका अनुसार केक काट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो। उक्त उचाइका बेला चारवटै ढोका एयर होस्टेसले छाड्न मिल्दैन।
तर जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कारबाही गरेको हो। ग्याली नं. १ (ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ) मा केक काटिएको थियो। जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए। एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए।
उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबाहीस्वरूप तीन महिनासम्म काम गर्न रोक लगाइएको निगम प्रशासनको भनाइ छ।निगमका कार्यकारी निर्देशक डिमप्रकाश पौडेलले मापदण्ड मिचेका कारण उनीहरूलाई कारबाही गरिएको बताए। उनले कोभिड महामारीका बेला जहाजमा केक काट्न नपाइने प्रोटोकल बनाइएको जानकारी दिए। पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं। कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो।
कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौं।’ निगमले बनाएको कोभिड उडान निर्देशिकामा भने उडिरहेको जहाजमा केक काट्न नपाउने भन्ने उल्लेख छैन। पछिल्लो समय सिनियर पाइलट विजय लामाले उडानका भिडियो फुटेज र फोटोहरू सार्वजनिक गरेको भन्दै नागरिक उडड्यन प्राधिकरणले फोटो सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ।
कारबाहीमा पर्नुअघि एयर होस्टेसले उडानमा जन्मदिन मनाएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। सोही कारणले पनि कारबाही गरिएको निगमका अपरेसन डाइरेक्टर दिपुराज जुहार्चनले बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, ०८ : २०
लेखकबाट थप