एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, ११ : ०६
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ ।

माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान समेत नेताहरुको छ ।

मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ ।एमाले स्रोतका अनुसार २०७५ जेठ २ मै फर्किए पनि अब एक हुन नसकिने कुरामा माधव नेपाल लगायतका नेता प्रष्ट छन् । आफू धेरै अघि बढिसकेकाले अब ओलीले जेठ २ मा फर्किने निर्णय गरे पनि उनको जालमा नपर्ने नेपालले निकट नेताहरुलाई बताएका छन् ।

नेपालले अहिले बनेको विपक्षी गठनबन्धनले राष्ट्रियसभाका दुवै सिट जितपछि उत्साहित हुँदै यहि गठबन्धन अब स्थानीय र आम निर्वाचनसम्म जाने बताएका छन् ।तर जेठ २ मा फर्किने अवस्था आएमा नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु भने एमालेमै रहनुपर्ने अडानमा छन् । तिनै नेताहरु अहिले वार्तामा छन् । भीम रावल र रघु पन्त बाहेक वार्ता टोलीका नेताहरुले आज भोलिमै अध्यक्ष ओलीसँग भेट्ने तयारी छ । माधव नेपाल पक्ष सग्लै एमालेमा फर्किने सम्भावना भने अब टरेका एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस