लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, ११ : ५३
लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा

बुटवल । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार भोलि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए ।माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रदेश सभातर्फका ७९ जना सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी २१७ मतदाता छन् । मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान ९ बजेबाट ३ बजेसम्म मतदान हुने छ । मतदान सकिए लगत्तै मत गणना सुरु हुने छ ।

प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाउने गरी तयारी पूरा भएको कुंवरले बताए । मतगणना सुरु भएको एक घण्टामै परिणाम आउने कुंवरले बताए ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । प्रदेशका ७९ प्रदेशसभा सदस्यको तीन हजार ७९२ र स्थानीय तहका २१७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ६९८ मत छ ।

प्रदेशका १०९ स्थानीय तहमध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परेर मृत्यु भएपछि रिक्त छ ।राष्ट्रिय सभामा दुई जना मात्र उम्मेदवार भएकाले ३ हजार ८ सय ५० मत ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् ।


 

प्रतिक्रिया दिनुहोस