मलाई पूर्ण विश्वास छ प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ : डा.देवकोटा

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १५ : ३३
मलाई पूर्ण विश्वास छ प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ : डा.देवकोटा

काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भुमिका हुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायि हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए । संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उनले आफ्नो भुमिका संविधानलाई बचाउन र संविधानलाई सहि दिशामा ल्याउनका लागि हुने बताए ।

उनले भने, ‘मेरो जवाफदेहिता भनेको प्रदेशप्रति र स्थानिय तह प्रति हो । र संविधानको धारा ७६ को उपधारा १० ले प्रधानमन्त्रीको जवाफदेहिता संसद प्रति हो । मन्त्रीहरुको जवाफदेहिता पनि संसद प्रति हो । संसदप्रति जुन उत्तरदायित्व हुनुपर्ने, जवाफदेहिता हुने , त्यसकारण संसदलाई छलेर पटक पटक प्रतिनिधि सभा विघटन गर्ने जुन काम भएको छ । यो संविधानलाई मास्ने, संविधानलाई सिध्याउने, संविधान च्यात्ने खालको जुन खेल भएको छ । यसलाई हामी सबै मिलेर संविधानलाई बचाउने, संविधानलाई राइट ट्रयाकमा ल्याउने यसैमा मेरो आफ्नो भुमिका हुन्छ ।’

डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे । संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको उनले बताए । संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गइएको उनले बताए ।

उनले भने, ‘मलाई चाहीँ पूर्ण विश्वास के छ भने प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना हुने हामी सबैले कामना पनि गरौँ । साँच्चै अब संविधानलाई राइट ट्रयाकमा ल्याउने हो भने त्यसको विकल्प पनि छैन । धारा ७६(३) को सरकारले संसदमा विश्वासको मत नलिइकन प्रतिनिधि सभा विघटन भएको अवस्था हो । किनभने ७६(५) मा माननीय शेरबहादुर देउवाले दाबी गरिसकेपछि त्यो अनुसारको प्रधानमन्त्री नियुक्त गरिनुपथ्र्यो । किनभने संविधान भन्दा बाहिर गएको अवस्था यो भयो ।’

उनले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिएका छन् । डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल समुहको सहयोगमा निर्वाचित भएका हुन् । उनले नेकपा(एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस