कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, ०९ : ०५
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नियुक्त भएका छन् । शर्मालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।

शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि पाएका छन्  । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ । 

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेकोमा उनलाई सो जिम्मेवारीबाट हटाइसकिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् । शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको हो।

कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपतकाल घोषणा गरेर सेना परिचालन गर्नसक्ने सम्मको अधिकार सरकारले दिइएको छ।

प्रतिक्रिया दिनुहोस