विपक्षी गठबन्धनको माग : सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्छ

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १३ : ५९
विपक्षी गठबन्धनको माग : सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्छ

काठमाडौं । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न परमादेश माग गर्दै रिटको मस्यौदा तयार पारेका छन् ।

कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकले रिटको मस्यौदाबारे जानकारी दिँदै भने, ‘सर्वोच्च अदालतले बहुमत सांसदको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्नुपर्छ र संसद विघटन खारेज गर्नुपर्छ भनेर जाँदैछौं ।’

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले देउवाको दावी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथग्रहणको बाटो खुल्ला गर्नुपर्ने लेखकले बताए ।

वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले रिटको मस्यौदा तयार भइसकेको तर दलहरुको तयारी बाँकी रहेकाले दलहरूबीच छलफलपछि मुद्दा दायर गरिने जानकारी दिए ।

अहिलेसम्म कांग्रेसका ६१ र माओवादीका ४९ सांसदको हस्ताक्षर भइसकेको छ । सबै सांसदको नागरिकता,सांसद परिचयपत्र र हस्ताक्षरको नमूना संकलनको काम सकिएको छ ।

दलहरुको आन्तरिक तयारीपछि नयाँ बानेश्वरको संसद भवनमा सबै सांसदहरुलाई बोलाएर रिटमा हस्ताक्षर गराइने लेखकले बताए । एमालेको माधव नेपाल पक्षका केही सांसद बानेश्वरमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस